रुपन्देही । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दिपक बोहोराले देशको समृद्धिका लागि युवाशक्तिको खाँचो रहेको बताउनुभएको छ ।
नेकपा एमाले, राप्रपा, जसपा नेपाल रुपन्देही क्षेत्र नम्बर ३ (१) को युवा भेलामा सहभागी बोहोराले युवाको साथ र सहयोगले नै देशको मुहार फेरिने बताउनुभयो । उहाँले राप्रपाले जहिले पनि युवाको सम्मान गरेको जनाउँदै अबका दिनमा पनि युवाका माग सम्बोधन गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।
रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधी सभाका उम्मेदवार बोहोराले युवाको साथ र समर्थनमा नै आफुले उम्मेदवारी दिएको बताउनुभयो ।
भेलामा प्रदेश सभाका लागि क्षेत्र नम्बर ३(१) का उम्मेदवार महेन्द्र यादवले निर्वाचन क्षेत्र मात्र नभई समग्र मुलुकको हितका लागि एमाले, राप्रपा र जसपाबिच तालमेल भएको बताउनुभयो ।

ठुलाबडाको आशिर्वाद युवाको साथ भन्ने लक्ष्य लिएर चुनावी मैदानमा उत्रिएको जनाउँदै उहाँले साथ दिन युवाहरुलाई आग्रह गर्नुभयो । “म भाइ गुमाएको पिडामा म छु । हिजोमात्रै भाइको अन्तिम संस्कार भयो । तर, आज कार्यक्रममा युवाहरुको उत्साहले खुशी बनाएको छ ”, उहाँले भन्नुभयो, “एउटा भाइ गएपनि मेरा हजारौं भाइ म सङ्ग छ्न ।”
उहाँले मंसिर ४ गतेपछि देशको नेतृत्व केपी शर्मा ओलीले गर्ने सहमति भएको जानकारी गराउँदै अब कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो ।
राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले मुलुक जोगाउन तीन दलीय गठबन्धनका उम्मेदवारलाई मतदान दिन आग्रह गर्नुभयो ।
काङ्ग्रेसले जनताको मतको अपमान गरि न्यायालयबाट परमादेश गराएर सरकारको नेतृत्व गर्नु दुर्भाग्य भएको बताउँदै उहाँले बेरोजगारी, महंगी र भ्रष्टाचार अन्त्य गरी देशलाई समृद्ध बनाउन एमाले, राप्रपा र जसपालाई साथ दिनुपर्ने बताउनुभयो ।
“गठबन्धनको सरकार बनेदेखी जनताका दुःखका दिन सुरु भए । अहिले बैंकको ब्याज १६ प्रतिशत भैसक्यो । अझै गृहमन्त्री चुनाव जिते ब्याजदर घटाउँछु भन्दै हुनुहुन्छ । अहिले ब्याजदर घटाउन सरकारलाई कस्ले रोकेको छ ? उहाँले प्रश्न गर्नुभयो ।

गृहमन्त्री मंसिर ४ सम्मका लागि मात्रै भएको बताउँदै उहाँले सत्ताको आडमा निर्वाचनमा धाधली गर्न खोजीए परीणाम घातक हुने चेतावनी दिनुभयो ।
एमाले नगर कमिटी अध्यक्ष चक्रबहादुर थापाले बढ्दो भ्रष्टाचार महङ्गी नियन्त्रणका लागि एमाले सहितका गठबन्धनलाई रोज्नुपर्ने बताउनुभयो ।
अब युवा नजागे देश संकटमा पर्ने भन्दै उहाँले देशका लागि पार्टी भन्दा माथी उठेर गठबन्धन गरेको स्पष्ट पार्नुभयो
युवा संघ नगर कमिटी सचीव रोशन थापाले देशभक्त पार्टीलाई रोज्न मतदातालाई आग्रह गर्नुभयो ।
युवा नेता जावेद आलमले सत्ताको बलमा जनतालाई दुःख दिने काम भएकाले यसको अन्त्यका लागि तीन दलीय गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।
संयुक्त निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्मा, युवा संंघ सिद्धार्थ नगर कमिटि अध्यक्ष कृष्णमल्ल ठकुरी, शंकर खत्री लगायतले क्षेत्र नं ३ का युवाले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई मत दिने विश्वास व्यक्त गर्नुभयो ।

