बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलको तिनाउ दानव कोरिडोर प्रभावित जनतालाई उपमहानगरपालिका भित्र नै व्यवस्थित स्थानमा स्थानान्तरण नगरी कोरिडोर बिस्तार नगर्ने बताउनुभएको छ ।
बुधबार बुटवल १३ स्थित कोरिडोर प्रभावित नागरिक टोल क्षेत्रका जनतासँग अन्तरक्रिया गर्दै पौडेलले जनताको स्थानान्तरण हुने चाहना नभए तिनाउ नदिको किनारमा पक्की पुल र पर्खाल निमार्ण गरेर बाटो अगाडि बढाउने तर जनताको इच्छा विपरित आयोजना अगाडि नबढाउने वाचा गर्नुभयो । कोरिडोर सडक बन्दा यो क्षेत्रको उन्नति हुने, व्यवस्थित सहरी विकास हुने भएपनि जनताको भावना विपरीत कुनै क्रियाकलाप नगर्ने पौडेलले बताउनु
भयो ।
सुकुम्बासी समस्या समाधान गर्न एमाले नेतृत्वको सरकारले सबै काम गरेर लालपुर्जा दिन ठिक्क परेको बेला सरकार ढालेर आयोग नै विघटन भएकाले दिन नसकिएको तर अब जग्गाधनी प्रमाणपत्र बितरण गर्ने कामको नेतृत्व एमालेले गर्ने पौडेलले बताउनुभयो ।
सोही कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २ (२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफ्नो नेतृत्वमा बिगतमा पनि सुकुम्बासी समस्या समाधानमा उल्लेख्य भूमिका खेलेको स्मरण गर्दै आगामी दिनमा पनि एमालेको नेतृत्वमा सो समस्या समाधान हुने बताउनुभयो । श्रेष्ठले शिक्षा र स्वास्थ्यमा राज्यले लगानी बढाउँदै जानुपर्ने बताउनुभयो । उहांले पनि कोरिडोर प्रभावित घर परिवारलाई उचित व्यवस्थापन नगरेसम्म कोरिडोर अगाडि नबढ्ने बताउँदै निश्चिन्त हुन सरोकारवाला लाई अपिल गर्नुभयो ।