बुटवल । आगामि निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सञ्चार माध्यमले सहि र सत्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कले सोमबार गरेको स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सञ्चारमाध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन ।
उनीहरुले मतदाता सचेत गराउने, उम्मेद्वार र दलहरुको घोषणापत्रबारे चर्चा गर्ने र निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रव कुँवरले मतदाता सचेत गराउने र आचार संहिताको पूर्ण पालना गराउनमा सञ्चारकर्मी र सञ्चार माध्यमले सकरात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहांले जिल्ला प्रशासनका तर्फबाट पत्रकारहरुलाई सहज रुपमा रिर्पोटिङ गर्ने वातावरण बनाउन आफूहरु तयार रहेको समेत बताउनुभयो । उहांले निर्वाचन सबै पक्षको सहयोगले मात्रै शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्ष हुने बताउनुभयो ।
उक्त अवसरमा यूरोपियन यूनियन डेलिगेशन टु नेपालका उपप्रमुख जोयल इभोनेटले मंसिर ४ गते हुने निर्वाचनमा मतदातालाई सजग र सक्षम उम्मेद्वार छनौटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहांले हरेक क्षेत्रमा राजनीतिकरण हुँदा त्यसले चुनौती थपिने भएकाले सहि र तथ्यपरक सूचना निर्वाचनका बेलामा सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि ठगबहादुर केसीले सुरक्षाका हिसाबले रुपन्देही मजबुद रहेको बताउँदै सुचना प्रवाहमा समन्वय गर्न तयार रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष एंव फ्रि मिडिया नेटवर्कका संयोजक रामराज पोख्रेलले रुपन्देहीका सञ्चारमाध्यमले निर्वाचनका बिषयमा सहि सूचना सम्प्रेषण गर्ने गरेको बताउँदै सुचना प्रवाहमा प्रशासन र निर्वाचन आयोगले समेत गम्भिर बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा युरोपियन यूनियन बरिष्ठ कार्यक्रम अधिकृत शिव भण्डारी, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनीका अजित ठाकुर, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, अधिकारकर्मी रीमा विसि, सञ्चारीका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम, क्रियाशिल महिला पत्रकार रुपन्देही अध्यक्ष कल्पना तिवारी, लैंगिक अल्पसंख्यकबाट विनोद विसि लगायतले बोलेका थिए । कार्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता, सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।