कञ्चन । नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का साझा उम्मेदवार बासुदेव घिमिरेले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गर्ने बताउनुभएको छ । चुनावी अभियानको क्रममा सैनामैना र कञ्चनका विभिन्न ठाउँमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार घिमिरेले एमाले नेतृत्वको सरकारले मात्र अव्यवस्थित र सुकुम्बासीहरुलाई जग्गाको वास्तविक मालिक बनाउने दावी गर्नुभयो ।
यसअघि एमाले नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पु¥याए पनि गठबन्धन सरकारले त्यसलाई षड्यन्त्रपूर्वक रोकेको भन्दै उहाले निर्वाचनपछि प्राथमिकताका साथ सुकुम्बासी समस्या समाधानको काम गरिने स्पष्ट पार्नुभयो । कतिपयको जमिन नैं नभएको र कतिपयले जग्गा उपभोग गरे पनि त्यसको स्वामित्व नहुँदा धेरै समस्या पाएको चर्चा गर्दै उहाले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधान गर्न आफू सधैं प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो ।
एमाले सरकारले अघि बढाएको जनता आवास कार्यक्रमलाई क्षेत्र नं. ५ का सबै पालिकाहरुमा विस्तार गरिने बताउँदै उम्मेदवार घिमिरेले भूमिहीन तथा आवासविहीन सम्पूर्ण घरपरिवारलाई संविधान प्रदत्त आवासीय हक अनुरुप आवास सुविधा उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो।
यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले लालपूर्जा वितरणको ७० प्रतिशत भन्दा बढी काम पूरा हुँदै गर्दा एमाले सरकारलाई षड्यन्त्रपूर्वक ढालिएपछि सुकुम्बासी समस्या समाधानको काम रोकिएको बताउनुभयो । ‘भूमिहीन सुकुम्बासीहरूलाई जग्गा मालिक हुनबाट रोकियो । चुनाव पछि हाम्रो सरकार बन्छ । हामी जनताका समस्या समाधान गर्छाैं ।’ उहाले भन्नुभयो ।
भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सिँचाई लगायतका विकासका काम देखिने गरि गरिएको र अझ सुधारका लागि योजनाबद्ध तरिकाले गरिने उहाको भनाइ छ l