पोखरा । गण्डकी प्रदेशकाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्नुभएको छ ।
आसन्न निर्वाचनमा टिकट नपाए पछि असन्तुष्ट बन्नुभएका मन्त्री आचार्यलाई एमालेको पक्षमा लागेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गर्नुभएको हो । आसन्न निर्वाचनमा आफ्नो पार्टीले टिकट नदिएपछि मन्त्री आचार्यले बागी उम्मेदवारी दर्ता गर्नुभएको थियो । पछि उहाँले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको छ । आचार्य गत निर्वाचनमा गोरखाबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी हुनुभएको थियो । जसपा बाट २०७८ जेठ २९ मा बिना विभागीय मन्त्रीमा नियुक्त हुनुभएका आचार्यलाई असार ११ मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मन्त्री आचार्यले आफूले सम्हालेको मन्त्रालय एक नम्बरमा आउने गरि काम गरेको दाबी गर्नुभएको छ । उहाँले आफु अहिले कुनै पनि राजनीतिक दलमा नलागेको र स्वतन्त्रको हैसियतमा बसेको बताउनुभयो ।