सैनमैना । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुद्धकालीन परम्परासँग जोडेर सैनामैनाको बिकास गरिने बताउनुभएको छ ।
सैनामैनालाई बिकासको नयाँ मानकको रुपमा स्थापित गर्नका लागि यहाँको ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षण र बिकास गरिने उहाँको भनाइ छ ।
आज सैनामैना भएको चुनावी कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधि सभाका उम्मेदवार पौडेलले बुद्धकालीन परम्परालाई लुम्बिनी, रामग्राम र तिलौराकोटलाई मात्र जोडेर पूरा नहुने भएकाले सैनामैना पनि यसमा जोडिएको दाबी गर्नुभयो ।
एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेलले यहाँका बौद्धकालिन ऐतिहासिक स्थलहरुको उत्खनन् र संरणसँगै अन्य धार्मिक स्थलहरुको समेत बिकास गरिने उल्लेख गर्नुभयो ।
यसैगरी पूर्व अर्थमन्त्री पौडेलले बुटवल–गोरुसिङ्गे हुँदै चन्द्रौटा जोड्ने सडकलाई ६ लेनमा बिस्तारका लागि केही महिनामै टेण्डर प्रक्रियामा जाने बताउनुभयो । बेलहिया–बुटवल ६ लेन सडक निर्माणमा भएका कमजोरीहरुलाई सच्याउँदै थप आकर्षक र व्यवस्थित ढंगले पूर्व–पश्चिम राजमार्ग अन्तरगतको बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गरिने उल्ल्ेख गर्नुभयो ।
सडक निर्माणका लागि विश्व बैंकसँग नेगोशेन गरी डिपिआर निर्माण लगायतका काम अघि बढेको बताउँदै उहाँले ३८ अर्ब लागतमा सडक बिस्तारको काम हुने उल्लेख गरे । पौडेलले यो सडक निर्माणसँगै रुपन्देहीको सैनामैना तथा कपिलवस्तु लगायतका शहरहरुलाई थप व्यवस्थित र बिकसित गराउने दाबी गर्नुभयो ।
आफ्नै पहलमा बुटवल बेलहिया सडक बिस्तार तथा बुटवल–नारायणगढ सडक बिस्तारको काम भएको बताउँदै नेता पैडेलले तेस्रो चरणमा बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गर्न लागिएको उल्लेख गर्नुभयो ।
सैनामैनामा निर्माणाधीन मुलुककै लामो चक्रपथ निर्माणले सैनामैनाको आर्थिक तथा सामाजिक बिकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
मुलुककै लामो सैनामैना चक्रपथको ५७ किलोमिटर मध्ये करिब ४० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भैसकेको बताउँदै सैनामैनामा निर्माण सुरु गरिएको लामीरह बहुउद्देश्यीय जलासयले यहाँको हजारौं कृषि भूमिलाई सिंचित गर्दै आर्थिक समृद्धिमा टेवा पुग्ने उनले बताउनुभयो ।
उहाँले पश्चिम नेपालकै पशुपति भनेर परिचित बोलबम धामको विकास, बौद्धकालीन ऐतिहासिकस्थलको उत्खनन्पछि धार्मिक पर्यटनबाट फाइदा लिन सकिने बताउनुभयो । बौद्धकालीन इतिहास र परम्परासँग सैनामैना पनि जोडिएको बताउँदै उनले यसको संरक्षण र विकासका लागि संग्राहलय निर्माण तथा धार्मिक क्षेत्रहरुको संरक्षणमा जोड दिइने उल्लेख गर्नुभयो ।
कसैको टिकाटिप्पणी नगरी आफ्नो ध्यान समग्र रुपन्देहीको बिकासमा केन्द्रित भएको बताउँदे आफूले गरेका बिकास र बिकासका प्रयासहरुलाई सबैले देख्ने विश्वास व्यक्त गर्नुभयो ।