बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठौलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहांले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोट लगायतका अन्य गन्तव्यसँग जोडेर कपरकट्टी ताललाई आकर्षक गन्तव्यका रुपमा विकास गर्ने बताउनुभयो ।
ताल निरीक्षण गर्न पुग्नुभएका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार एवं काँग्रेस केन्द्रीय सदस्य खाँणले यस क्षेत्रमा रहेको तालले यस क्षेत्रको मुहार फेर्ने विश्वास ब्यक्त गर्नुभयो । ‘मिनी फेवाताल’ नामले समेत परिचित यो ताललाई स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा विकास गरिने खाँणको प्रतिबद्धता छ । ‘यो प्राकृतिक ताल हो, पहिला–पहिला सिंचाईका रुपमा प्रयोगमा आउने गरेको थियो, अब यसलाई पर्यटनसँग जोडेर विकास गरिने छ’, खाँणले भन्नुभयो ।
यहाँ रहेको करिब १५ बिघा सिमसार क्षेत्रफलमध्ये एक किलोमिटर लामो र करिब ३ सय मिटर चौडाई क्षेत्रमा ताल फैलिएको छ । तालको गहिराई करिब ५ मिटर छ । प्राकृतिकरुपमा बनेको प्राचीन कपरकट्टी ताललाई बुटवल उपमहानगरपालिकाले नजिकै रहेको नरैनापुर धामसँग जोडेर पर्यटकीय विकास गर्ने योजना अगाडि सारेको छ । बुटवल उपमहानगरपालिकाका तत्कालिन नगरप्रमुख शिवराज सुवेदीले उक्त तालको संरक्षण र विकासका लागि गुरुयोजना बनाएर काम अगाडी बढाउनुभएको थियो । भविष्यमा होम–स्टे, वनभोज क्षेत्र, स्वीमिङ पूल, चिल्ड्रेन पार्क, बाल उद्यान जस्ता करोडौं लगानीका पर्यटकीय पूर्वाधार बनाउने लक्ष्य राखिएको छ । तालको तालमा डुंगा सयरको व्यवस्था गरिएको छ । वरिपरि फुटपाथसहितको साइकल लेन बनाइएको छ । ताल निरीक्षणको क्रममा गृहमन्त्री खाँणले बोटिङ गरेर तालको पूरै निरीक्षण समेत गर्नुभएको थियो ।