देवदह । नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले परमादेशको जगमा बनेको गठबन्धन सरकार जनादेशबाट परास्त हुने बताउनुभएको छ । रुपन्देही क्षेत्र नंं १ का सांसद उम्मेदवार विश्वकर्माले मंसीर ४ गते हुने निर्वाचनले परमादेशको सट्टा जनताको मतबाट सरकार बनाउने बताउनुभयो ।
परमादेशबाट बनेको गठबन्धन सरकार बनेसंगै मंहगीले सिमा नाघेको, भ्रष्टाचार बृद्धि भएको, किसानले मलबीउ पाउन नसकेको, डेंगुले देशवासी आक्रान्त हुंदा समेत सरकारले बेवास्ता गरेको नेता विश्वकर्माले टिप्पणी गर्नुभयो । नेकपा एमाले, राप्रपा र जसपाले रोहिणी गाउंपालिकाका विभिन्न वडामा आयोजना गरेको संयुक्त निर्वाचन प्रचार तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार विश्वकर्माले दशगजा देखि दलदले सम्म समानुपातिक विकासको लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
आफनो ५ बर्षे कार्यकालमा दक्षिण क्षेत्रलाई बढी महत्व दिएको बताउदै उहांले अब पनि यसलाई निरन्तरता दिने बतानुभयो । नेता विश्वकर्माले जनमतको अपमान गर्दै अदालत गएर प्रतिपक्षलाई सत्ता सुम्पनेहरु एकपटक टिकट नपाउंदैमा पार्टी छाडेर स्वतन्त्रको नाममा विपक्षीको शिखण्डी बनेको बताउनुभयो । दलिय व्यवस्थामा दलको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नहुनेमा जोड दिनुभयो । नेता विश्वकर्माले विकासका अधुरा काम पुरा गर्न सामाजिक असमानता र विभेदको अन्त्य गर्न नेकपा एमालेको जीत आवश्यक रहेकोमा जोड दिनुभयो ।
आगामी मंसीर ४ पछि बन्ने नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले जेष्ठ नागरिकलाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता दिने र जेष्ठ नागरिकको सम्पूर्ण उपचार सरकारले जिम्मेवार लिने बताउनुभयो । । सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभाका उम्मेदवार आशिषकुमार चौधरीले शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासको लागि एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।
घरदैलोका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहामहामन्त्री ताहिर अली, एमालेका नेता दिलिपमणि त्रिपाठी, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष घनश्याम क्षेत्री, एमालेका नेता मुस्ताक अहमत खाँ लगायतले क्षेत्र नंं १ मा एमाले राप्रपा जसपा गठबन्धन कम्तीमा १० हजार मतले अगाडि रहेको भन्दै उत्साहित भएर मतदातालाई प्रशिक्षित गर्न आग्रह गर्नुभयो ।