देवदह । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु परेको नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले नेकपा एमालेको सरकारले हिम्मत राखेर नेपालको चुच्चे नम्सा जारी गर्न सफल भएको बताउनु भयो ।
तिलोत्तमा–१० रुपन्देहीमा संयुक्त घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता विश्वकर्माले उक्त कुरा बताउनु भएको हो । रुपन्देहीको क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले भारतले नाकाबन्दी गर्दा समेत बोल्न नसक्नेहरुले राष्ट्रियताको कुरा गर्दा विरोध गरिरहेको बताउनु भयो । उहाले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा २० ग्यारेन्टी गरेको बताउदै घोषणापत्रमा उल्लेख गरिएका विषयलाई कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने बताउनु भयो ।
उहाले परमादेशबाट बनेको सरकारले नागरिकको समस्या भन्दा पनि आफनो सेवा सुविधामा बढी ध्यान दिएको आरोप लगाउनु भयो । पुर्वमन्त्री समेत रहनु भएका विश्वकर्माले एमाले सरकारबाट हटेपछि सत्तागठबन्धनले अनावश्यक मन्त्रीहरुको संख्या बृद्धि गरेर राज्यलाई आर्थिक भार थप्ने काम गरेको बताउनु भयो । उहाले नेकपा एमालेको सरकारले राष्ट्रको हितमा महत्वपूर्ण योजनाहरु अगाडि सारेपनि परमादेशी सरकारले बजेट कटौती गरेको बताउदै रुपन्देहीको क्षेत्र नम्वर १, मा नेकपा एमालेले विकासको जग बसाल्ने काम गरेको दावी गर्नु भयो ।
नेता विश्वकर्माले क्षेत्रको विकासको लागि शुरु गरिएका योजनाहरु पुरा गर्न एमालेले सरकारको नेतृत्व गर्नुपर्नेमा जोड दिनु भयो । उहाले विकासको लागि बजेट विनियोजना गरी काम गर्दा समेत विभिन्न वहानामा अवरोध सृजना गरेर काम गर्न नदिने नेताहरु नै अहिले विकासका कुरा गर्ने गरेको बताउनु भयो । सोही अवसरमा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले यस क्षेत्रको विकासको लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनु भयो । क्षेत्र नम्वर १(२) प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता न्यौपानेले एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो ।