काठमाडौँ । गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् ।
यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले जनाएको छ । स्थिर समय लागू भएसँगै लामो समय निर्वाचनका लागि चहलपहल भएको गाउँघर तथा सहर बस्तीको वातावरण चकमन्न बनेको छ ।
दलका नेता, कार्यकर्ता घर बाहिर देखिएका छैनन् । स्थिर समय लागू भएसँगै राजनीतिक गतिविधिमा शून्यता देखिएको छ । मतदातालाई निर्वाचनमा कसलाई मत हाल्ने भन्ने सोच विचार गर्नका लागि स्थिर समयको व्यवस्था गरिएको हो ।
यसअघिका निर्वाचनमा भने मतदानको अघिल्लो ४८ घण्टा अघि देखिको समयलाई मौन अवधि भनिन्थ्यो । आयोगले यस पटक नयाँ शब्दावलीको प्रयोग गरेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहितामा उल्लेख गरिएको छ ।