रुपन्देही । प्रतिनिधिसभा र प्रदेशसभाका लागि रुपन्देहीमा भएको निर्वाचनको मतगणना आजैदेखि शुरु गर्ने तयारी गरिएको छ ।
निर्वाचन कार्यालयका प्रवक्ता टेकराज पन्थीका अनुसार सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेपछि सर्बपक्षिय बैठक बसेर मतगणना सुरु हुने छ । “समय तय भएको छैन तर, आजै रातिदेखि मतगणना सुरु हुन्छ”, उहाँले भन्नुभयो ।
जिल्लामा रहेका पाँच निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने छ । क्षेत्र नं १ को देवदह नगरपालिका स्थित शित्तलनगर देवदह आदर्श बहुमुखी क्याम्पसमा मतगणना हुने छ ।
क्षेत्र नं २ को २ बुटवल उपमहानगरपालिका कार्यालयमा, ३ को भैरहवा उच्च मावि भैरहवामा, ४ को कोटहीमाइ गाउँपालिकाको भवनमा र ५ को गैडहवा गाउँपालिकाको भवनमा मतगणना हुने प्रवक्ता पन्थीले बताउनुभयो ।
जिल्लामा प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि आज भएको निर्वाचनमा करिब ६६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।