काठमाडौँ । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ ।
सञ्चार तथा सूचना मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महाभियोगसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल भई तयार भएको प्रतिवेदन अब गठन हुने प्रतिनिधिसभामा छलफल हुनेछ ।”
यसअघि महाभियोगको प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको उल्लेख गर्दै सङ्घीय संसद् सचिवालयले सर्वोच्च अदालतलाई पत्र पठाएको थियो ।
महाअभियोग प्रस्ताव अघिल्लो प्रतिनिधिसभामा पेस भई प्रारम्भिक छलफल हुनाका साथै सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको थियो ।