बुटवल । हिंसा र विभेद अन्त्यका लागि मानव अधिकारमैत्री सँस्कृतिको विकास गर्न आवश्यक रहेकामा जोड दिइएको छ ।
अन्तररराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानव अधिकारमैत्री सँस्कृतिको विकासले नै समाजका सबैखाले विकृतीको अन्त्य हुँदै जाने दाबी गर्नुभयो ।
कार्यक्रममा मानव अधिकार आयोगका प्रमुख सोमनाथ सुवेदीले मानव अधिकारको रक्षा र हिंसा अन्त्यका लागि विद्यालय तहबाटै नैतिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
समाजमा कुनैपनि छोरीले हिंसा भयो भनेर आगो लाउन नपर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै उहाँले त्यसका लागि आत्मबल बढाउने खालको शिक्षा आवश्यक रहेकामा जोड दिनुभयो । “हिजोका दिनमा ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने संस्कार थियो । समाज सुसंस्कृत हुने वित्तिकै सुधार हुन्छ”, उहाँले भन्नुभयो । उहाँले साझा हितका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
बुटवल –११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले समाजमा देखिएका समस्या समाधानका लागि सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभयो । समाज परिवर्तनका लागि सबैले आफ्नो घरका सन्तानलाई असल संस्कार दिनुपर्ने र सकारात्मक सोंच राख्ने वातावरण सृजना हुनुपर्ने धारणा राख्नुभयो ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले परिवर्तनको सुरुआत आफैबाट गर्नुपर्ने बताउँदै घरपरिवार सचेत भए समुदाय सचेत हुने बताउनुभयो ।
उपप्रध्यापक युवराज कडेँलले ग्रामिण समुदायमा हिंसा र विभेद विरुद्धका कार्यक्रम कम हुने गरेको बताउनुभयो । उहाँले गास बास कपाससँगै वातावरणीय अधिकारका कुरा उठाउनुपर्ने धारणा राख्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले बजार अस्वस्थ हुँदा उपभोक्ता पिडित भएको जनाउँदै व्यापारिक आचारसंहिता अनुसार व्यापार हुन आवश्यक रहेको चर्चा गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले मान अधिकारको रक्षा र कानून कार्यान्वयनमा नेपाल प्रहरी सधैँ क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूहका रुपन्देही अध्यक्ष निरा गौतम, अधिकारकर्मीहरु सावित्रा घिमिरे, आनिक राना, विष्णु पौडेल, झरना अर्याल, मानव अधिकार अधिकृत दिपक ठाकुर, अजित ठाकुर लगायतले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।