काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्न अध्यादेश ल्याउन लागिएको बताउनु भएको छ ।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
मन्त्री कार्कीले भन्नुभयो, ‘‘मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश सम्माननीय राष्ट्रपतिमा सिफारिस गरेका छौँ ।’’
यस किसिमका अध्यादेश योभन्दा अघिका सरकारले पनि अध्यादेश जारी गरेको जानकारी दिनुहुँदै मन्त्री कार्कीले भन्नुभयो, ‘‘यस किसिमले माफी दिने सहमति गरेको छ, अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति सम्माननीय राष्ट्रपतिकोमा मन्त्रिपरिषद्ले सिफारिस गरेको छ ।’’
मन्त्री कार्कीले मुलुकलाई अहिले शान्ति चाहिएकाले सबैको सहयोग र योगदान रहोस् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको बताउनु भयो ।
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।