जनकपुरधाम । तराई मधेशका जिल्लाहरूमा धानको दाउनीसँगै पराल तथा भुसमा आगो लगाउने क्रम बढेको र लामो समयसम्म वर्षा नभएका कारणले वायु प्रदूषणको स्तरमा वृद्धि भएको छ ।
वायु प्रदूषणका कारणले श्वासप्रश्वासमा समस्या आउनुको साथै रुघा खोकी लाग्ने, नाक जाम हुने क्रममा वृद्धि भएको छ । वायु प्रदूषणको अर्को कारणको रुपमा शहरी क्षेत्र तथा ग्रामीण क्षेत्रमा फोहर र धुलो पनि प्रमुख कारणको रुपमा रहेको वातावरणको क्षेत्रमा काम गर्दै आएको सवैका लागि सुरक्षित र सफा हावा अभियानका संयोजक वर्षा पराजुलीले जानकारी दिनुभएको छ ।
बुधवारबाट जनकपुरधाममा धुलो मिसिएको कण तथा अन्य कारणले आकाशमा अत्यधिक मात्रामा तुवालाे देखिएको छ । जनकपुरधाममा फोहर बढेको, ध्वनि तथा बायु प्रदूषणमा वृद्धि भएका कारणले सर्वसाधारणको स्वास्थ्यमा समस्या उत्पन्न भएका छ । जनचेतनाको अभाव भएका कारणले नगर क्षेत्रमा फोहर, प्लाष्टिक, पराल तथा भुसमा आगो लगाएर जलाउने क्रम बढेको छ । यति मात्र नभएर चिसोबाट जोगिनका लागि आगो बाल्ने क्रम बढ्न थालेको छ ।
जनकपुरधाममा वायुको प्रदूषण कुनै कुनै ठाउँमा ३ सय माईक्रोग्राम परमीटर क्युसेक पुग्ने गरेको पनि अभियानी पराजुलीले जानकारी दिनु भयो । अहिले बायुको अवस्थाको बारेमा जानकारी लिनका लागि जनकपुरधाम उपमहानगरपालिकामा बायुको गुणस्तर मापन यन्त्र जडान गरिइएको छ ।
पानी परेको वेलामा जनकपुरधामको बायुको स्तर १५० माईक्रोग्राम परमीटर क्युसेक भन्दा तल झरेपनि अन्य समयमा यस भन्दा माथि नै रहने गरेका छ । जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरूमा सडक निर्माणको क्रम सँगै अत्यधिक धुलो उडेको र धुलोको सही व्यवस्थापन नभएका कारणले पनि हावाको स्तरमा सुधारको साटो बिग्रिने गरेको छ ।
“स्वच्छ हावा स्वास्थ्य जीवन” का लागि विश्व स्वास्थ्य सङ्गठनले हावामा २५ माईक्रोग्राम परमीटर क्युसेक हुनु पर्ने गाइड लाइन रहेको छ भने नेपालको सन्दर्भमा ४० माईक्रोग्राम परमीटर क्युसेक तोकिएको छ । तर नेपालको केही पहाडी जिल्ला बाहेक अधिकांश भागमा हावाको गुणस्तर राम्रो नभएको स्वच्छ ऊर्जा नेपालले जनाएको छ ।
भारत तथा तराई मधेशका जिल्लाहरूमा पराल र भुसमा आगो लगाएका कारणले उत्पन्न भएको समस्याको विषयमा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुखको ध्यानाकर्षण गराउने काम भएका छ । मानवको जीवन तथा स्वास्थ्य रक्षाका लागि आयोगमा लिखित उजुरी परेमा आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण गर्न तयार भएको आयोगका प्रदेश कार्यालयका प्रमुख मञ्जु खतिवडाले जानकारी दिनु भयो ।