बुटवल । धान खरिद गर्न र सहज रुपमा मल आपूर्तिको व्यवस्था मिलाउन माग गर्दै किसानहरुले थप आन्दोलनको घोषणा गरेका छन्।
सरकारले धानको समर्थन मूल्य तोकेपनि किसानको धान किन्न आलटाल गर्नुका साथै सहज रुपमा मल आपूर्तिको व्यवस्था नगरेको किसानहरुको गुनासो छ।
अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले तत्काल किसानले उत्पादन गरेको धान खरिद गरिदिन र मल आपूर्तिको व्यवस्था गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ र नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी रुपन्देहीमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्।
उनिहरुले मंसिर २० गते जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्रको विषयमा जानकारी दिँदै सरकार किसानहरुको समस्याका बारेमा उदासिन बन्दै आएको बताए।
अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश संयोजक आरती पौडेलले सरकार किसानहरुको समस्या समाधानको लागि सरकार उदासिन भएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनुभयो ।
नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका संयोजक बेग बहादुर कुँवरले दबाब स्वरुप यसअघि प्रदेशको खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीमा लगाएको ताला लगाएपनि कम्पनीले तोडेर गम्भिर गल्ति गरेको बताउनुभयो ।
महासंघको संयुक्त बैठकले किसान समूह मार्फत मल वितरणको व्यवस्थापन मिलाउन, उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्न, बाली विमा अनिवार्य तथा सहुलियत गर्न माग गरेको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महासचिव महेन्द्र गिरीले जानकारी दिनुभयो ।