भैरहवा । खुला सिमा नाका हुँदा चोरी निकासी बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा सञ्चालन भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सवमा आज भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल र भारतको सिमा नाका बेलहिया लगायतका स्थानमा चोरी निकासी हुन नदिन कडा निगरानी गर्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले उद्योगी–व्यवसायीले कर, बैंक ब्याज तिर्दा पनि विभिन्न हैरानी व्यहोर्नुपरेको बताउँदै यी समस्या समाधानका लागि प्रदेश सभाको माध्यमबाट केन्द्र सरकारसम्म पुर्याउने बताउनुभयो ।
अव्यवस्थित सिमा नाका भएका कारण चोरी तस्करी हुने गरेकाले नियन्त्रणमा कठिनाइ भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले बताउनुभयो । ठुला व्यापारीलाई नियन्त्रणमा लिन सहज भए पनि झोलामा थोरैथोरै सामान व्यापार गर्नेलाई नियन्त्रण लिन नसकिएको उहाँको भनाइ छ ।
सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका एसपी गगन कुमार श्रेष्ठले खुला सीमाना सुरषा चुनौति भएपनि यसको सबै मिलेर सामना गर्नुपर्ने बताउनुभयो । उहाँले सिमा नाकामा खटिने सुरक्षा निकायलाई सरकारले भवन तथा जग्गा सहज रुपमा उपलब्ध नगराउँदा सुरक्षाकर्मीहरुलाई सुरक्षा दिन समस्या भएको बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले सबै करदाताको निगरानी गर्न सकिने भएकाले कसैले गल्ती गरेको थाहा पाए जानकारी दिन आग्रह गर्नुभयो ।
प्लान्ट क्वारेन्टाइन रुपन्देहीका प्रमुख हरि खनालले व्यापारमा सरकारले निकासिक लागि तुरुन्तै पास गर्नुपर्ने निर्देसिका दिएको र आयातित वस्तुमा बुझेर मात्रै गर्ने भनेकाले क्वारेन्टाइनमा समय लाग्दा व्यवसायी समस्यामा परेको बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले व्यापारमा कमी भएका कारण राजस्व संकलनमा समेत कमी आएको बताउँदै व्यापार व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।
खुला सिमा, अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले घरेलु तथा कुटिर उद्योग र पर्यटन लक्षित होटलहरु प्रवद्र्धनका लागि मेलामा स्टल राखिएको बताउनुभयो ।
उहाँले खुला सिमानाले व्यापारमा समस्या निम्त्याए पनि भारतसँग रोटिबेटीको सम्बन्धका कारण कडाइ गर्न समस्या भएको बताउनुभयो ।
नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु पन्थीले खुला सीमानाका कारण सुरषा चुनौति थपिएको बताउनुभयो ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले खुला सीमानाले गर्दा युवाहरु कुलतमा फस्नुका साथै हत्या र हिंसाले बढावा पाएको धारणा राख्नुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक बेदबहादुर पौडेलले खुला सिमाले लागुऔषध दुव्र्यसनी बढेको र सुरक्षा चुनौति थपिएको बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विजय पाण्डेले खुला सीमानाका आइपर्ने समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले मुलुक आयातमुखि भएकोमा चिन्ता व्यक्त गर्दै नेपालमा भएका जडिबुटी, अदुवा जस्ता सामग्री विक्रि गरी आम्दानी गर्नु पर्नेमा जोड दिनुभयो ।