बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्दहीको विकासको जिम्मेवारी पूरा गरेर छाड्ने बताउनुभएको छ ।
निर्वाचनमा मत दिएर जनताले विकासको जिम्मेवारी सुम्पिएको जनाउँदै उहाँले जिल्लाको विकासलाई नयाँ उचाईमा पुर्याउने उल्लेख गर्नुभयो ।
तिलोत्तमाको जनजागृती माध्यामिक विद्यालयको स्वर्ण महोत्सव तथा ५० औ अभिभावक दिवसमा आज बोल्दै पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीको बिकास योजना आफुसँग भएको बताउँदै त्यसलाई तिव्रताका साथ अगाडी बढाउने प्रतिवद्वता जनाउनुभयो ।
उहाँले रुपन्देहीले विकास निमार्णमा अरु जिल्लाको तुलनामा धेरै फड्को मारिसकेकाले अब भौतिक र मानवीय विकासलाई साँगसँगै लैजाने बताउनुभयो । जिल्लाका बाँकी रहेका योजना पूरा गर्ने र नयाँ योजना सुरुआत गरी विकासको रोल मोडल बनाउन भूमिका खेल्ने उहाँले बताउनुभयो ।
रुपन्देहीमा धेरै विकास निमार्णका योजनाहरु सम्पन्न भइसकेको र ठुला योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले त्यसपछि रुपन्देहीको परिचय फेरिने बताउनुभयो ।
पूर्व उपप्रधान समेत रहेका पौडेलले पछिल्लो समय रुपन्देही शैक्षिक हवको रुपमा स्थापित हुदै गएको र निजी शैक्षिक संस्थाहरुसंग सामुदायिक विद्यालयहरु प्रतिस्पर्धा गर्ने अवस्थामा पुग्नु गर्बको विषय हो भन्नुभयो । उहाँले अव जिल्लाका सबै सामुदायिक बिद्यालयहरुको स्तरउन्नती गरी अव्वल बनाइने बताउनुभयो ।
पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं २ क का लुम्विनी प्रदेश सभा सदस्य लिला गिरीले नयाँ प्रविधि अनुसार शिक्षा क्षेत्रलाई अगाडी बढाउन आफ्नो प्रयत्न रहने प्रतिबद्धता जनाउनुभयो । गिरीले सामुदायिक विद्यालयको भौतिक संरचनाहरु अझै पनि पर्याप्त नभएका पठन पाठन समेत प्रभावित हुने गरेकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो
कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र न ५ का प्रतिनिधि सभा सदस्य बासुदेब घिमिरेले सामुदायिक विद्यालय सञ्चालन गर्न केही चुनौती भए पनि शैक्षिक गुणस्तर वृद्वि भएपछि विद्यार्थीको आर्कषण बढदै गएको बताउनुभयो । तिलोतमा पुर्व नगरप्रमुख समेत रहेका घिमिरेले सामुदायिक बिद्यालयहरुको पठनपाठनललाई थप प्रभावकारी बनाउन स्थानीय सरकारले महत्वपूर्ण भुमिका खेल्नुपर्ने धारण राख्नुभयो ।