बुटवल । रुपन्देही उद्योग संघले बुटवलमा गर्न लागेको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ तयारी अन्तिम चरणमा पुगेको छ ।
संघले शनिवार प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ यही पौष ७ देखि १९ गतेसम्म १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको स्टल निर्माण, मञ्च व्यवस्थापन लगायतका कामहरु अन्तिम चरणमा पुगेको जानकारी गराइएको थियो । प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम छ ।
सो अवसरमा मूल समिति संयोजक माधव प्रसाद पौडेलले बुटवल मण्डपमा निर्माणाधिन आधुनिक स्थाथी प्रदर्शनी स्थलमा संघले पहिलो पटक मेला आयोजना गर्न लागेकोले यो पृथक मेला हुने विश्वास ब्यक्त गर्नुभयो । पौडेलले नेपालमा औद्योगिक प्रदर्शनीको संस्थागत जग बसाल्दै औद्योगिक प्रवद्र्धनका लागि काम गर्दै आएको स्मरण गराउँदै कमी कमजोरी हटाएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
पत्रकार सम्मेलनमा संघले प्रदर्शनीको प्रवेश टिकटबाट ४ रुपैया मुटु अस्पताललाई र ४ रुपैया सामाजिक कोषमा छुट्याएको जानकारी अध्यक्ष पौडेलले बताउनुभयो ।
राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा कार्यक्रम आयोजना गर्ने पहिलो अवसर पाएको भए पनि प्रदर्शनी केन्द्रको भौतिक निर्माणको काम पूर्ण रुपमा नसकिएका कारण आर्थिक र व्यवस्थापनका रुपमा समस्या परेको पौडेलको भनाइ थियो ।
पत्रकार सम्मेलमा वितरित प्रेस विज्ञप्तिमा प्रर्दशनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गर्दै पहिलो पटक आल्मुनियमको पार्टेसन सहितका स्टल निर्माण गरिएको उल्लेख छ । यसको सजावटदेखि व्यवस्थापन हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने उल्लेख छ ।