बुटवल । जातीय छुवाछुत र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला शाखा रुपन्देहकिो ३५ औँ स्थापना दिवसको अवसरमा आज बुटवलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले गणतान्त्रिक मुलकका नागरिक भएर पनि समाजमा जातीय छुवाछुत र विभेद कायमै रहेकाले यसको अन्त्यका लागि सबै जागरुक हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) का सचिब तथा रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले जातीय विभेद अन्त्य गर्न नेपाल मुक्ति समाजको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले ३५ बर्षसम्म गरेका विभिन्न गतिविधिले समाज परिवर्तनमा ठूलो उपलब्धी हासील भएको बताउनुभयो ।
“ब्यवस्था परिवर्तनको मात्रै कुरा छैन समाज परिवर्तन, आर्थिक र साँस्कृतिक परिवर्तनमा जोड दिनुपर्छ”, विश्वकर्माले भन्नुभयो ।
उहाँले संविधानमा भएको व्यवस्था अनुसारको अभ्यास कस्तो भयोे भनेर समीक्षा गर्नुपर्ने बेला आएको जनाउँदै नेता बिश्वकर्माले त्यसका लागि राजनीतिक शक्तिहरुका बिचमा सहकार्य हुन आवश्यक रहेकामा जोड दिनुभयो ।
नेकपा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज दधिराम न्यौपानेले जातिय विभेद अन्त्यका लागि वर्गीय विभेद अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले सबैखाले विभेद अन्त्यका लागि देशको नेतृत्व एमालेले गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले विभेद अन्त्यका लागि कानुन कार्यान्वयन गर्नतर्फ जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले जातीय मुद्दालाई सबैले साझा मुद्धाका रुपमा हेर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका पूर्व संयोजक एकराज बिस्वकर्माले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकताबद्ध भएर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका केन्द्रीय सचीव कमला विश्वकर्मा, नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सैनामैना नगरका पुर्ब नगरप्रमुख चित्र बहादुर केसी, जिल्ला सदस्य चम्पा गहतराज, मुक्ति समाजका अध्यक्ष दिपेन्द्रराज बिश्वकर्मा, सचिब हेम बहादुर बिश्वकर्मा लगायतले जातीय विभेद अन्त्यका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।