बुटवल । बुटवल बजारको विद्युत हाइटेन्सन व्यवस्थापन गर्न उपमहानगरले विद्युत प्राधिकरणसँग आग्रह गरेको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौंस्थित प्राधिकरणको कार्यालयमा भेट गरी बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्ती बाहिर सार्न आग्रह गर्नुभयो ।
नगरप्रमुख पाण्डेयले बुटवलमा शहरीकरण बढ्दै गएकोले खुला विद्युत तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराउनुभयो । उहाँले जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्न समेत अनुरोध गर्नुभयो ।
नगरप्रमुख पाण्डेयले बुटवलमा उच्च क्षमताका सडक बत्ती राख्न बुटवल उपमहानगरपालिकाले तयारी गरेकाले सहयोग गर्नका लागि प्राधिरणका प्रबन्ध निर्देशक घिसिङलाई आग्रह गर्नुभयो ।
भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्तीमाथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले पाल्पामा सब स्टेशन निर्माण भएपछि बुटवलमा तार व्यवस्थापन र भूमिगत तारको लागि काम अघि बढाउनका लागि योजना ल्याउने विश्वास दिलाउनुभएको थियो ।
यसैगरी बुटवल उपमहानगरपालिकाका पाण्डेयले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग विभागको काठमाडौंस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराउनुभयो ।
पटक पटक सहजीकरण र समन्वय गर्दापनि सडक निर्माणमा तीब्रता नदेखिएकाले बुटवलबासीको तर्फबाट सडक विभागसामु खेद व्यक्त गर्नुभएको थियो । भेटघाटका क्रममा महानिर्देशक थापाले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न विभाग प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेको बताउँदै छिटै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख पाण्डेयले ललितपूर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भेट गरी विकास निर्माणका कामबारे जानकारी समेत लिनुभएको छ ।
उहाँले ललितपूरबाट सिकेर बुटवलले विकासमा फड्को मार्न सक्ने भन्दै ललितपूर महानगरप्रमुख महर्जनलाई बुटवल भ्रमणको निम्तो दिनुभयो ।
भेटका क्रममा ललितपूर नगरप्रमुख महर्जनले आफु बुटवल आउन इच्छुक रहेको र बुटवलका राम्रा अभ्यासबाट ललितपूरले सिक्ने बताउनुभयो । उहाँले ललितपूर र बुटवलका बीचमा सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताउनुभयो ।