बुटवल । नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना विरुद्ध भ्रष्टाचार कसुरमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियम विपरित वदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएकाले सजाएको माग दाबी गर्दै आज आरोपत्र दायर गरेको हो ।
रुपन्देहीको साबिक दुधराक्ष गाबिस–७ (क) र वडा–२ (क) को जग्गा नापी कार्यालयका कर्मचारी तथा जग्गाधनीसमेत सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमातो रहेको पाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
आयोगले भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मुल्यांकन अनुसार घुसाएको जग्गाको रु १० लाख ६५ हजार दुई सय पाँच बराबरको सरकारी सार्वजनिक जग्गासहित फायल नक्सा तयार गर्ने नापी कार्यालयका कर्मचारी र जग्गा खरिद खरिदबिक्री गर्ने व्यक्तिलाई सजायको माग दाबी गरेको छ ।