बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा नवौं लुम्बिनी सडक खाना तथा साँस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ, नेपालको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्व सन्ध्यामा डिसेम्बर ३१ तारिख (पुस १६ गते शनिबार) महोत्सव हुने भएको हो ।
संघले बिहीबार लुम्बिनीमा पत्रकार सम्मेलनमार्फत लुम्बिनीको महिलवार बजारमा बेलुका ४ बजेदेखि राती १२ बजेसम्म फूड फेष्टिभल आयोजना हुने जानकारी गराएको हो ।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले कोरोनाका कारण सुस्ताएको पर्यटनलाई माथि उकास्न महोत्सव सफल हुने विश्वकस व्यक्त गर्नुभयो ।
कोरोना संक्रमणको प्रभावका कारण होटल व्यवसायहरु निकै प्रभावित भएकाले महोत्सवले राहत दिने बताउनुभयो ।
। खाना महोत्सवमा स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राहमण समुदाय लगायतका खानपिनका साथै पाल्पाको झिनिया रोटी, बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, यस क्षेत्रकै नामी मिठाइ इम्रिति लगायतका खानेकुराका परिकारहरु रहनेछन् । ।
फूड फेष्टिबलमा लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका लगायत देशका परिकारहरु पनि समावेश गर्ने तयारी भइरहेको संघका निवर्तमान अध्यक्ष मिथुन श्रेष्ठले बताउनुभयो । महोत्सवमा नौमति, पञ्चेबाजा, बिराहा, थारु, झुमराका साथै आधुनिक पप÷डिजे गीत संगीतको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नयाँ र गुणस्तरीय खानाका परिकारसहित साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष लिलामणी शर्माले पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी सडक महोत्सवलाई ब्राण्डेड प्याकेजका रुपमा लैजाने तयारी गरिएको बताउनुभयो ।
पुस १६ गते लुम्बिनी होटल संघ नेपालका सदस्य आबद्ध होटलका कोठामामा ३० प्रतिशत छुट प्रदान गरिने उहाँले बताउनुभयो ।
खाना महोत्सवमा लुम्बिनीमा स्वदेशी, विदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामीण बजारबाट मात्र नभइ सीमावर्ती भारतीय बजारबाट समेत सहभागी हुन आउने अपेक्षा गरिएको संघका महासचिव पुरुषोत्तम अर्यालले बताउनुभयो । भारतीय सीमावर्ती बजार तथा भैरहवा, बुटवल, तौलिहवाबाट यातायातको व्यवस्था गरिने छ ।
खाना महोत्सवमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय रुपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद्, लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही लगायतका संघ–संस्था र निकायहरुको सहकार्य रहनेछ ।