बुटवल । बुटवलमा जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को चौथो दिन हजारौं दर्शकले अवलोकन गरेका छन् । पुष १९ गतेसम्म संचालन हुने प्रदर्शनीमा आइतवार अवलोकन कर्ताहरुको अत्याधिक भिड लागेपछि ब्यवस्थापनमा हम्मेअम्मे परेको थियो । क्रिसमसको विदा परेका कारण ठूलो संख्यामा दर्शकहरु मेला हेर्न आएका थिए । तोकिएका टिकट काउन्टरबाट टिकट वितरण गर्न नसकेपछि प्रवेश गेटमा ४ वटा काउन्टर थपिएको थियो ।
आइतवार प्रदर्शनी अवलोकन गर्न रुपन्देही लगायत छिमेकी जिल्लाहरु पाल्पा, अर्घाखाची, नवलपरासी, कपिलबस्तुसँगै छिमेकी राष्ट्र भारतबाट समेत अवलोकनकर्ताहरु आएका थिए । प्रदर्शनीमा सहभागी स्टल धनीहरुले स्टलबाट राम्रो आर्थिक कारोवार भएको बताएछन् । स्टलबाट विषेश गरी खाद्यान्न, कपडा र घरायशी सामानहरुको विक्री बढी भएको छ । अवलोकनका क्रममा उत्पादनको बारेमा सोधपुछ गर्ने, गुणस्तरका बारेमा जानकारी लिने गरेको पनि उनीहरुको भनाई छ ।
प्रदर्शनीमा उपभोक्ताहरुलाई अवलोकन गर्न सजिलो होस भन्दै एकै प्रकृतिका उत्पादनहरुको एकै पेभेलियन बनाएर स्टलहरु राखिएको छ । जस अनुसार कृषि, फुड तथा वेभरेज, कपडा लगायतका १० वटा विभिन्न प्रकृतिका उत्पादनहरुको पेभेलियन बनाइएको छ । यसरी बनाउँदा उपभोक्ताहरुले एकै स्थानमा एकै प्रकारका विभिन्न कम्पनीका उत्पादनहरु किन्न र अवलोकन गर्न सुविधा भएको मुल आयोजक समितिका सह संयोजक दिलिप सापकोटाले बताउनु भयो ।
यसैवीच प्रदर्शनी स्टलमा राखिएका उत्पादनको गुणस्तरका बारेमा आयोजक पक्षबाट गोप्य रुपमा अनुगमन गरिएको छ । आयोजक संस्थाको नीति र भावना विपरित स्टलमा राखिएका सामान हटाउने तथा मापदण्ड विपरित रहेका स्टलहरु कारवाही गर्दै सचेत बनाएको अनुगमन समितिका संयोजक जिवकान्त काफ्लेले जनाउनु भयो । काफ्लेका अनुसार आयोजकको उद्देश्य र सहमति विपरित केही स्टलहरुमा राखिएका सामानहरु तत्काल हटाउने काम भएको छ ।