भक्तपुर। आइतबार पूर्वार्धसम्म सुनसानजस्तै रहेको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास उत्तरार्धमा भने थामिनसक्नु भीडको घेरामा प-यो।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूबीच नयाँ प्रधानमन्त्रीका लागि सहमति जुट्न नसकेपछि अपराह्न एकाएक राजनीतिक सरगर्मी बालकोटतर्फ सरेको हो। यद्यपि त्यसअघि नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरूबीच विभिन्न तहमा वार्ता भइरहेका थिए। राजनीतिक समीकरणको अङ्कगणित बालुवाटारमा घट्न थालेपछि त्यहाँ रहेका सञ्चारकर्मी हतार गर्दै बालकोट पुगेका थिए।
त्यस्तै राजनीतिक दलका नेताहरू दिउँसो १ बजेपछि छलफलका लागि बालकोट आउने क्रम बढ्यो। करिब सय जना सञ्चारकर्मी, राजनीतिक दलका नेता र कार्यकर्ता तथा सर्वसाधारणको ठूलो भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। सत्ता गठबन्धन दलको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जारी बैठक छोडेर बाहिरिएको केही समयमै अरू दलका नेताहरू बालकोट पुग्न सुरु गरेका थिए। महासचिव देव गुरुङ बालकोटमै बसेर एमाले अध्यक्ष ओलीसँग छलफल गरिरहनुभएको थियो भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतका नेता बालकोट पुग्नुभएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १ बजेपछि बालकोट पुग्नुभएको थियो। अन्तिममा जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बालकोट पुग्नुभयो। अन्ततः करिब चार घण्टाको त्यही भेला र बैठकले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको ४४औँ प्रधानमन्त्री तय गर्ने सहमति ग-यो। सहमतिपछि दलका नेताहरू सोझै राष्ट्रपति कार्यालय शीतल निवास जानुभएको थियो। शीतल निवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निवासको बार्दलीमा निस्किएर उपस्थित जनसमूहलाई अभिवादन गर्नुभएको थियो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्वाचनबाट नेपाली कांग्रेस पहिलो शक्ति बने पनि सरकार गठनमा पहलकदमीको भूमिका निर्वाह गर्न नसकेपछि दोस्रो ठूलो दल एमालेले राजनीतिक निकासको नेतृत्व लिनुपरेको बताउनुभयो। सहमतिबारे जानकारी दिँदै उहाँले पहिलो दलले नेतृत्व लिन नसकेपछि एमालेले पहलकदमी लिने नैतिक बाध्यता आइलागेको र त्यसको नेतृत्व लिएको बताउनुभयो।
एमाले माओवादी वीचको गठबन्धनका सूत्रपात भने एमाले उपाध्यक्ष विष्णु पौडेल हुनुहुन्थ्यो । राजनीतिलाई नयां मोडमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएका पौडेलले यसपटक पनि निर्वाचन सम्पन्न भएदेखि नै माओवादी नेताहरुसंग वारम्वार सम्पर्कमा हुनुहुन्थ्यो । उहांलाई उपमहासचिव पृथ्वी सुब्बा गुरुड् र माओवादी महासचिव देव गुरुड्ले साथ दिइरहनुभएको थियो ।
यो बीचमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादीका महासचिव देब गुरुड्वीच पटक पटक भेटघाट भइरहेको थियो । माओवादी नेता वर्षमान पुन चीनबाट फर्केपछि पहिलो भेट एमाले नेता पौडेलसंग भएको थियो । पौडेलले नै निर्वाचन सम्पन्न भएलगत्तै पहिलो पटक माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर अहिलेको गठबन्धनको सूत्रपात गर्नुभएको थियो । यद्यपी प्रचण्डले अन्तिमसम्म पनि कांग्रेससंगको गठबन्धन नछाडेपछि एमाले नेताहरु त्यति उत्साही थिएनन् । कांग्रेससंगको बार्ता सफल नहुने देखेपछि माओवादी अध्यक्ष प्रचण्डले एमाले उपाध्यक्ष विष्णु पौडेललाई टेलिफोन गरेर आफु केपि ओलीलाई भेट्न आउन लागेको बताउनुभएको थियो । ।