रुपन्देही । नेकपा एमालेबाट नयाँ सरकारमा नेतृत्व गरेका विष्णुप्रसाद पौडेल वि.सं २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मिनुभएको हो । बुवा देवीलाल र आमा रेवतीका सुपुत्र पौडेल स्कूल पढ्दापढ्दै भूमिगत राजनीतिमा होमिनुभएको थियो ।
२०३३ सालदेखि राजनीतिमा सक्रिय पौडेलले २०३७ सालमा ३ वर्ष राजकाजको मुद्दा खप्नुभएको थियो । सो समयमा उहां ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान हुनुभएको थियो । जेल चलान भएका उहां ४५ दिनपछि जेल विद्रोह गरी बाहिर आउन सफल हुनुभएको थियो ।
साबिकको लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बसेर भूमिगत राजनीति गरेका उहां वि.सं २०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश गर्नुभएको थियो । उहां सातौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बन्नुभएको थियो ।
विष्णु पौडेलको संसदीय राजनीति २०५१ सालबाट सुरु भएको हो । उहां २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट सांसद जितेर प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । वि.सं २०५६ मा रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ बाट ६०० मतले नेपाली कांग्रेसका नेता स्व. सूर्यप्रसाद प्रधानसँग पराजित हुनुभयो ।
पौडेल पहिलो पटक २०५४ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री हुनुभएको थियो । उहां २०६५ मा प्रचण्ड सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको पालामा रक्षामन्त्रीसमेत बन्नुभएको थियो । वि.सं २०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र २०७१ को नवौं महाधिवेशनबाट पौडेल उपमहासचिव निर्वाचित हुनुभएको थियो ।
पार्टीभित्र र बाहिर समन्वयमा रहेर काम गर्ने स्वभाव पौडेलको छ । वि.सं २०७२ मा ओली प्रधानमन्त्री भएका वेला अर्थमन्त्रीका रुपमा आफूलाई सफल बनाएपछि पार्टी र बाहिर पनि उहांको व्यक्तित्व थप माथि उठेको थियो ।
२०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेपछि बनेको नेकपाको शक्तिशाली महासचिवको जिम्मेवारी पाएपछि उहांको चर्चा थप चुलिएको थियो । सो वेला एमालेका महासचिव ईश्वर पोखरेललाई पाखा लगाउँदै पौडेल महासचिवमा चयन हुनुभएको थियो । ओली नेतृत्वको यसअघिको सरकारमा दोस्रोपटक अर्थमन्त्री बनेका पौडेल त्यो समय पनि उहां सफल अर्थमन्त्री कहलिनुभएको थियो ।
एमालेको दशौं महाधिवेशनबकाट उपाध्यक्ष बनेका पौडेल रुपन्देही क्षेत्र नं २ मा लगातार ४ पटक जितेका सांसद हुनुहुन्छ । उहां २०५६ देखि सो क्षेत्रमा उम्मेदवार बनेपनि पहिलो पटक थोरै मतान्तरले पराजित हुनुभएको थियो ।
यसअघि एमाले र माओवादी एकता गर्न पौडेलले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । अहिले पनि ५ दलको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने विशेष भूमिकामा उहां हुनुहुन्थ्यो । पौडेलले अहिलेको गठबन्धनमा एमालेको नेतृत्व गरेर उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
आफ्नो क्षेत्रमा विकासे नेता, पार्टीभित्र सांगठनिक नेतृत्व गर्ने र बाहिर सबैसँग समन्वय गर्ने नेताको पहिचान बनाएका पौडेलको अर्थ मन्त्रालयको तेस्रो पटकको जिम्मेवारी सबैको चासो बनेको छ । अहिलेका अर्थमन्त्रीसामु आर्थिक क्षेत्रको संकट, निजी क्षेत्रले सरकारप्रति बढाएको अविश्वास र सरकारको बढ्दो खर्च व्यवस्थापन मजबुत बनाउने चुनौतीका चाङ छन् । यस्तो अवस्थामा एमालेको नेतृत्व गरेर गठबन्धन सरकारमा पुगेका पौडेलको परीक्षा अब सुरु भएको छ ।