काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सुरु भएको छ । सपथ ग्रहणपछि प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सुरु भएको हो । नयाँ अधिवेशनको पहिलो बैठक पुस २५ गते बोलाइएको छ ।
प्रतिनिधि सभामा नयाँ सांसदहरुको उपस्थिति बाक्लो छ । नयाँ नयाँ दल आएका कारण अबको संसद कसरी सञ्चालन हुन्छ भन्नेबारे धेरैको चासो छ । साथै सांसदहरुले पाउने सेवा सुविधाबारे पनि धेरैको रुची छ ।
प्रतिनिधि सभा सदस्यलाई रु ६६ हजार ७० मासिक पारिश्रमिकको व्यवस्था रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । यसमा विशेष भत्ता बापत रु १ हजार, सञ्चार सुविधा बापत रु ३ हजार र धारा, पानीको नाममा रु २ हजार थपिँदा रु ७२ हजार ७० हुन्छ ।
यसैगरी काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक रु १८ हजार आवास सुविधा पाउने व्यवस्था छ । उपत्यकामा घर हुनेहरुले मर्मत खर्च भनेर रु ९ हजार दिइने गरिएको सहायक प्रवक्ता धमलाले बताउनुभयो ।
प्रतिनिधिसभा र संसदीय समितिको बैठकमा उपस्थिति हुँदा बैठक भत्ता बापत रु १ हजार र आवतजावतका लागि थपरु १ हजार र सांसद निर्वाचित भएर आएपछि एकपटकका लागि फर्निचर खर्च एकमुस्ट १५ हजार रुपैयाँ दिइने धमलाले बताउनुभयो ।
सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत रु २ हजार ५०० पाउने र विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउने धमलाले बताउनुभयो ।
सांसदहरुले उपचार खर्च पनि पाउने व्यवस्था छ । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ । त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन् ।
सांसदहरुले पेश्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा ३ महिना सम्मको लिन सकिने व्यवस्था गरिएको छ । विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको स्वीकृतिमा बढीमा १ वर्षसम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेश्की पाउने व्यवस्था रहेको धमलाले जानकारी दिए ।
थप सुविधाको रुपमा सांसदको दैनिक कामकाजमा सघाउने सचिवालयमा राजपत्रांकित तृतीय श्रेणी सरहको स्वकीय सचिव नियुक्त गर्न दिने व्यवस्था छ । स्वकीय सचिवको सेवा सुविधा स्वयं स्वकीयकाो खातामा राखिदिने व्यवस्था गरिएको छ ।