बुटवल । स्पष्ट नीति र कार्ययोजनाको अभावका कारण पर्यटन क्षेत्रबाट नेपालले लाभ लिन नसकेको निश्कर्ष निकालिएको छ । १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा बुटवलमा आयोजित पर्यटन उद्योगः विकास र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटन क्षेत्रलाई सैद्धान्तिक रुपमा आर्थिक विकासको प्रमुख आधार भनिए पनि त्यसलाई उपयोग गर्ने ठोस नीति बनाउन नसकेको गुनासो गरे ।
.jpg)
पर्यटन क्षेत्रमा प्रशस्त अवसरहरु रहे पनि त्यसलाई ठीक ढंगले उपयोग गर्ने काम हुन नसकेको पर्यटन क्षेत्रका अगुवाहरुको भनाइ थियो । वक्ताहरुले अन्य उद्योगहरुमा कच्चा पदार्थ र ढुवानीको ठुलो लगानी हुने भए पनि पर्यटन उद्योगमा कच्चा पद्धार्थ र ढुवानी आवश्यक नपर्ने भएकाले नेपाली माटोमा पर्यटन उद्योग सबैभन्दा उपयुक्त भएकामा जोड दिए ।
कार्यक्रममा पर्यटन उद्योग विकास र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी विकास कोषका सूचना अधिकृत डा.हरिध्वज राईले पर्यटन व्यवसाय मात्र नभई विज्ञान समेत भएको बताउँदै नेपालमा पर्यटन विकासका लागि प्राकृतिक, साँस्कृतिक, पुरातात्विक, स्वास्थ्य लगायतका क्षेत्रलाई जोड्न सकिने धारणा राख्नुभयो । पर्यटन उद्योगमा लगानी भए पनि नेपालमा पर्यटन उद्योगको मार्केटिङ र ब्राण्डिङ हुन नसकेको उहाँको भनाइ थियो ।
पर्यटन ग्रामिण विकास तथा सहरी विकास मन्त्रालय लुम्बिनीका सचिव डा.जक्कि मोहमद अन्सारीले उद्योग र पर्यटनमा प्रवद्र्घनमा महोत्सवको महत्व रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले चुरेको रेन्ज नै पर्यटन विकासको सम्भावना भएको बताउँदै १२ जिल्लामा गन्तव्य पहिचान भइरहेको जानकारी दिनुभयो ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्धिचरण भट्टराईले पर्यटन विकासको बहसलाई केवल बहसमा नराखी अब ब्यवहारमा लैजानुपर्ने बताउनुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले नीजि क्षेत्रले पर्यटन पर्यटनलाई उद्योगको रुपमा स्थापित गर्न चाहेको भए पनि राज्यले पर्यटन मैत्री नीति बनाउन नसकेको गुनासो गर्नुभयोे ।