बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी सरकार अगाडि बढेको बताउनुभएको छ ।
गुरुङ समुदायको महान पर्व तमु ल्होसार–२०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, सँस्कृतिको विकास र समृद्धीका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
“हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण छ, यही हाम्रो देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ ”, उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने बताउनुभयो ।
संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेको उल्लेख गर्नुभयो ।
“विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ ”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।