रुपन्देही । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा तीन दिने सडक खाना महोत्सव सुरु भएको छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका विभिन्न परिकारलाई एकैथलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले बुटवलमा चौथो सडक खाना महोत्सव आयोजना गरिएको हो ।
बुटवल वडा नं ९ तीनकुने चोकदेखि माथि नयाँ बसपार्कसम्म निर्माणाधीन कालिकापथ सडकको दाँयावाँया क्षेत्रमा सडक खाना महोत्सव सञ्चालन गरिएको हो । विभिन्न खानाका परिकारसहितका १ सयभन्दा बढी स्टल राखिएको छ ।
तीन दिनसम्म चल्ने सडक खाना महोत्सवको शुक्रबार एक कार्यक्रमबीच संघीय सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले शुभारम्भ गर्नुभयो । सांसद विश्वकर्माले बुटवललाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
आर्थिक केन्द्रसँगै बुटवल होटल तथा पर्यटन क्षेत्रमा अब्बल सहरको रुपमा विकास भएको बताउँदै बुटवलको विकासले समग्र विकासमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो ।
संघका अध्यक्ष रामप्रसाद गौतमले साँझ ६ बजेदेखि राती १२ बजेसम्म सडक खाना महोत्सव सञ्चालन गरिने बताउनुभयो ।
‘नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन र रोजगारी सृजना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सडक खाना महोत्सव आयोजना गरिएको महासचिव माधव खनालले बताउनुभयो ।
यसैगरी लुम्बिनीमा पनि शनिबारदेखि सडक खाना महोत्सवको आयोजना गरिएको छ । तीन दिनसम्म चल्ने उक्त सडक खाना महोत्सवमा करिब १ करोडको आर्थिक कारोबार हुने र १ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकहरूको अपेक्षा छ ।