बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १२ औं अधिवेशन सुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताउनुभयो ।
चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासहरुको ३५ बुँदे सम्बोधन गर्दै उहाँले बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापना गर्ने काम अघि बढेको बताउनुभयो ।
उहाँले उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति लगायतका कामका लागि नगरले अगुवाई गरिरहेको बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले गत वर्षायाममा बुटवलमा बाढीपहिरोबाट क्षति हुनबाट जोगाइएको र आगामी वर्षामा समेत जोखिम न्यूनीकरणका लागि प्रयास भइरहेको बताउनुभयो ।
नगरप्रमुखले प्रस्तुत गरेको प्रगति विवरणमा बुटवलको ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन गर्ने काम जारी रहेको र छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले रोजगारदाता र रोजगारप्राप्त गर्ने व्यक्तिबीच समन्वय र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापनाको काम अघि बढेको बताउनुभयो ।
बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको, बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने काम अघि बढेको उहाँले बताउनुभयो ।
प्रमुख पाण्डेले उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडानका लागि प्रस्ताव तयार गरी संघीय सरकारमा पठाइएको जानकारी गराउनुभयो । संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति तथा क्षमता वृद्धिका लागि रु १० करोड रुपैयाँको प्रस्ताव पेश गरिएको उहाँको भनाइ छ ।
बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रमेख पाण्डेले बताउनुभयो ।
प्रमुख पाण्डेका अनुसार लामो समयसम्म विवादमा रहेको मोतीपूर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने कार्य सम्पन्न भएको छ भने नगरभित्रको जग्गालाई कृषि र गैरकृषि क्षेत्र छुट्याउने कार्यका साथै कित्ताकाट खुला गर्ने काम भएको छ ।
लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेपनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना जारी गरी प्रमाण पत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ ।
तिनाउ नदी किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा च्यानलाइज गर्ने कार्यको प्रक्रिया थालनी भएको छ र नदीको विभिन्न ठाउँमा तारजाली लगाउने कार्यलाई निरन्तरता दिइएको प्रमुख पाण्डेले बताउनुभयो ।
उहाँकाअनुसार आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययनका लागि काम अघि बढेको उल्लेख गर्नुभयो ।
बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ र बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाउनुभयो ।
उहाँले बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टि डेफोर्ट हार्मोनिक जेभीसँग बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई आवश्यक प्रक्रिया अघि बढेको बताउनुभयो ।
बुटवल ७ शिवनगरमा छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अन्तिम चरणमा पुगेको, रोजगारदाता र रोजगार व्यक्तिबीच समन्वयको काम गर्ने र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापना गर्न कार्यविधि बनाइएको प्रमुख पाण्डेले बबताउनुभयो ।
उहाँले बुटवलको कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका लागि अनुमति दिइएको छ भने ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका बारेमा अध्ययन भइरहेको बताउनुभयो ।
राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक निर्माण कार्य छिटै सम्पन्न गर्न सहजीकरण र समन्वय गर्ने काम निरन्तर भइरहेको उहाँको भनाइ छ ।
बुटवलका स्थायी बासिन्दाको लागि आमा र नवजात शिशुलाई पोषण खर्चवापत रु २ हजार दिने व्यवस्थाका लागि कार्यविधि तयार गरिएको प्रमुख पाण्डले बताउनुभयो ।