बुटवल । निर्वाचनमा उम्मेदवार बनेका पत्रकारहरुको सदस्यता खारेज गर्न प्रेस चौतारी नेपाल, रुपन्देहीले माग गरेको छ । आज नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारीले पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्न माग गरेको हो ।
चौतारीले महासंघका सदस्य रहेका केही पत्रकार उम्मेदवार तथा राजनीतिक दलको प्रतिनिधि रहेको र यसरी उम्मेदवार दिएका पत्रकारहरुको सदस्यताका बारेमा महासंघको धारणा बाहिर आउनुपर्ने जनाएको छ ।
पत्रकार महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय महासंघको यसअघिको बैठकले गरेको निर्णयलार्ई स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयन भए÷नभएको बारे समेत चौतारीले ज्ञापनपत्रमार्फत जिज्ञासा राखेको छ ।
रुपन्देहीमा पनि महासंघको सदस्य रहेका विभिन्न व्यक्ति निर्वाचनमा उम्मेदवार रहेको भन्दै चौतारीले महासंघलाई विधानमा रहेको व्यवस्था कडाइका साथ पालना गर्न÷गराउन तथा उम्मेदवारी दिएका वा दलका कुनै पनि विभाग वा कमिटीमा रहेका पत्रकारहरुको छानबीन गरी सदस्यता अविलम्ब खारेज गर्नुपर्ने चौतारीको माग छ । माग सुनुवाई नभए थप दबाबमुलक कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ ।
नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७६) ले प्रष्ट रुपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन भन्ने व्यवस्था छ ।
राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्दीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने व्यवस्था छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।
उक्त व्यवस्थाअनुसार महासंघले उम्मेदवार बनेका, राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रहेका पत्रकारहरुलाई महासंघले कारवाही अगाडि नबढाइएको पाइएको प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताउनुभयो ।
महासंघको निर्णयबमोजिम उम्मेदवार भएका पत्रकारले स्वेच्छिक रुपमा सदस्यता त्याग गरेका समाचार पनि सार्वजनिक भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सदस्यताबारे महासंघ गम्भिर रहेको बताउनुभयो ।
उहाँले उम्मेदवार बनेका पत्रकारले नैतिकताका आधारमा सदस्यता त्याग्नुपर्ने त्यसो हुन नसक्नु बिडम्बना भएको बताउनुभयो । उहाँले महासंघ सदस्यता शुद्दीकरणमा लागेकाल यस विषयमा छलफल गरी निर्णयमा पुग्ने प्रतिबद्धता जनाउनुभयो ।