कैलाली । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख पदको लागि निर्वाचन हुने भएको छ । हिजो साँझ भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज पुन : निर्वाचन हुन लागेको हो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मतदानमा ५० जनाले भाग लिनुभएको थियो । यहाँ सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्दछ ।
यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार हुनुहुन्छ ।
हिजो पक्षमा र विपक्षमा गरी दुई पटकसम्म मतदान भएको थियो । पहिलो चरणमा भएको मतदानमा भीम भण्डारीले बहुमत आवश्यक मत २७ पाइसक्नुभएको थियो । विपक्षमा गरिएको मतदानमा सत्ता गठबन्धनकै एक सांसदको मत बदर भएपछि उहाँको मत २६ पुग्यो । भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भयाे ।
हिजो रावलको पक्षमा २३ मत खसेको थियो । रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ । हिजो कसैको पनि २७ मत नपुगेपछि आज फरी ११ बजे निर्वाचन हुन लागेको हो ।