बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनलाई पूर्णता दिने जिम्मेवारी वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको शनिबार राप्ती गाउँपालिकामा आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अघिल्लो प्रदेश सभा बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध भएको बताउनुभयो ।
‘राजधानीको व्यवस्थापन र निर्माण वर्तमान सरकारको जिम्मेवारी हो । प्रदेश सभाबाट भएको निर्णय कार्यान्वयन पूर्णरुपमा गर्छौं’ मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेशको समृद्धि नै हाम्रो लक्ष्य हो ।’
मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने बताउनुभयो । समग्र प्रदेश सरकार सफल भयो भने सिंगो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै मुख्यमन्त्री गिरीले यसको लागि सञ्चार जगतको सहयोग अपरिहार्य हुने उल्लेख गर्नुभयो । ‘सञ्चार क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नेछौं’ गिरीले भन्नुभयो, ‘नागरिकको जीवनस्तर माथि उकास्ने योजना छ ।’
सम्वोधनका क्रममा मुख्यमन्त्री गिरीले केपी ओली मुलुकको सर्वाधिक लोकप्रिय नेता भएको उल्लेख गर्नुभयो । ‘मुलुकको अहिलेको राजनीतिक नेतृत्व केपी ओलीकै ओरीपरि छ’, उहाँले भन्नुभयो, ‘जनतामा सर्वाधिक लोकप्रिय नेता नै उहाँ हो ।’
नवनियुक्त मुख्यमन्त्री गिरीलाई प्रेस चौतारीले सम्मान गरेको थियो ।
.jpg)