काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गर्नुभएको छ ।
माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।
विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले मुलुकलाई विश्वसामू परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उहाँको भनाइ छ ।
“सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता हाम्रो साझा पहिचान भएको बताउनुभएको छ । थारू समुदायको चाड माघी तथा माघेसङ्क्रान्ति (मकर सङ्क्रान्ति)को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालका जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व छन् । यी चाडपर्वले एकापसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।”
उहाँको सन्देशमा भनिएको छ, “यस अवसरमा सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन हार्दिक अपिल गर्दछु ।”
प्रधानमन्त्री प्रचण्डले माघी पर्वले सम्पूर्ण नेपालीबीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृति निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।
माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्सासपूर्वक मनाउने गर्दछन् । विशेषगरी थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्दछन् । माघीका दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपश्चात घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार खाइ रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ ।