बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिकोे लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री गिरीले शुभकामना सन्देश जारी गर्दै पर्वहरुले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने उल्लेख गर्नुभएको छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् ।
ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएको र सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता पनि छ । समग्रमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा मकर सङ्क्रान्ति एवम् माघी पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ । हर्ष, खुशी र मनोरञ्जनपूर्वक मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वर्द्धन गर्नु हामी सबैको दायित्व हो’ मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
लुम्बिनी प्रदेशका सम्पूर्ण जनताको समृद्धि र विशेषगरी अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि प्रतिबद्ध भएर लागेका उल्लख गर्दै मुख्यमन्त्री गिरीले “समृद्ध लुम्बिनीःआत्मनिर्भर प्रदेश“ भन्ने मूल मन्त्र लिएर विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माणको लक्ष्यका साथ अघि बढेको उल्लेख गर्नुभएकोे छ ।
प्रदेश सरकारले लिएको लक्ष्यमा पुग्नका लागि सम्पूर्ण लुम्बिनीवासीको सकारात्मक साथ र सहयोगको पनि मुख्यमन्त्रीेले अपेक्षा गरेको बताउनुभएकोे छ । उहाँले पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम होस् भन्ने उल्लेख गर्नुभएको छ ।