पोखरा । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेकामध्ये ७० जनाको शव फेला परेको छ भने २ जनाको अवस्था अझै अज्ञात छ ।
सम्पर्कविहीन रहेकाको आज पनि खोजिकार्य हुने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले जानकारी दिनुभयो । दुर्घटनामा परी सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न आज गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ ।
हिजो ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।
आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।
दुर्घटनाग्रस्त विमानमा यात्रारत हालसम्म ७० जनाको शव भेटिए पनि २ जना भेटिन बाँकी छ । भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ ।