काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको विषयमा कुनै निर्णय नगर्ने भएको छ ।
पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म गठबन्धन नटुटोस् भन्नेमा आफू लागिरहेको बताउनु भयो ।
उहाँले गृह मन्त्रालयको विषयमा अदालतको पूर्णपाठ पर्खिन सुझाव आएको पनि बताउनु भयो । पार्टी केन्द्रिय कार्यालयमा बसेको पदाधिकारीको बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयको सन्दर्भमा सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म प्रधानमन्त्रीसँगै गृह मन्त्रालय राख्न सुझाव आएको बताउनु भयो ।
बैठकमा राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति हुनु पर्ने विषयमा जोड दिइएको पनि उपाध्यक्ष महराले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले पार्टीका नेताहरूको कार्य विभाजन गर्ने र प्रदेश कमिटीलाई बढी बलियो बनाउने विषयमा छलफल गरेको छ ।
भोलि बस्ने स्थायी समिति बैठकमा यस विषयमा थप छलफल र निर्णय हुने जानकारी उपाध्यक्ष महराले दिनुभयो ।