रुपन्देही । भारतीय सन्त मुरारी बापूद्वारा गरिने कथावाचनको विषयलाई लिएर कुनै पनि पक्षले विरोध नगर्ने सहमति भएको छ । लुम्बिनी विकास कोषमा मङ्गलवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको रोहबरमा बसेको बैठकले चार बुँदे सहमति गरेको हो ।
बैठकमा लुम्बिनी गुरुयोजना बमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मुरारी बापुको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष युवराज जिरेल, महासङ्घका केन्द्रीय कोषाध्यक्ष विमल सारू, सङ्घर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाति महासङ्घ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र परामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन् ।
यस्तै माघ २३ गते पर्सा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाउने, घटनाको आवश्यक छानविन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने सहमति भएको छ । हस्ताक्षर गरिएको सहमतिमा विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ ।
त्यसैगरी लुम्बिनीमा सञ्चालनमा भएको रामकथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीहरूले संवादका क्रममा राखेको सुझावलाई मध्यनजर गर्दै आयोजकहरूलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, संघ, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने र उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित सङ्घसंस्था र सरोकारवालासँग परामर्श र सहमति गर्ने सहमति भएको छ ।
बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मी, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको सहभागिता थियो ।
