काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूरा गर्न सकिने योजना मात्र अघि सार्न र आफूले गरेका प्रतिबद्धता पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध निकायको चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले सम्पन्न गर्न नसकिने योजनाभन्दा प्राथमिकताका आधारमा योजना अघि सार्नुपर्ने बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले कसैलाई खुसी पार्नेभन्दा पनि जनताले प्रत्यक्ष लाभ लिने योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मन्त्रालय र मन्त्रालय मातहतका निकायको प्रगति लक्ष्य अनुरुप नभएको भन्दै काम कै आधारमा कार्यसम्पादन गर्ने प्रणालीको विकास गर्न जरुरी रहेको समेत बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले विगतका कार्यशैलीमा समस्या भए सुधार गरेर भए पनि प्रतिफलतर्फ उन्मुख हुन र लक्ष्य भेट्ने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कामलाई परिणामसँग जोडेर हेर्न र कुनै पनि बहानामा लक्ष्य पूरा नगर्ने छुट कसैलाई नभएको बताउनुभयो । उहाँले सरकारका माइल स्टोन योजनाहरूको अपनत्व लिँदै ती योजनाहरूको कामको गति बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो ।
मन्त्रालय र सम्बद्ध निकायले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिका बजेटको २९ प्रतिशत खर्च गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म चालुतर्फ ३९ र पुँजीगततर्फ १३ प्रतिशत खर्च गरेको छ ।