काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्याउन विशेष समिति गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको प्रमुख तीन शीर्ष दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदमा भएको दुई विशेष समितिमध्ये संसदीय सुनवाइ समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व नेकपा एमालेले गर्ने सहमति भएको बताउनुभयो ।
त्यस्तै प्रतिनिधिसभामा रहेको १० वटा विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र थप एक समितिको नेतृत्व गर्ने तथा संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई संसद्बाटै पारित गरेर अगाडी बढ्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक गिरीले जानकारी दिनुभयो ।
नेकपा एमालेले संसदीय सुनुवाइ समितिमा चार सदस्य पाउने गरि सहमति भएको पनि उहाँले बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद् सहमतिमै सञ्चालन गर्ने गरी विषयवस्तु टुङ्ग्याएको र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई विशेष समिति गठन गरेर टुङ्ग्याउने बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहमतिको साथ अगाडी बढ्ने र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई विशेष समितिबाट संसद्को अधिवेशनबाट पारित गर्ने बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका प्रमुख सचेतक पदम गिरी कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।