बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सूचना तथा सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर बुटवलमा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ ।
बुटवल १२ मा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको काम अगाडि बढाउनका लागि बुटवल उपमहानगरपालिकाको तर्फबाट सबै प्रक्रिया पूरा भइसकेको बताउँदै उहाँले आवश्यक सहजीकरणका लागि मन्त्री शर्मासँग आग्रह गर्नुभयो ।
उहाँले सञ्चार मन्त्रालयबाट स्थानीय सरकारलाई सूचना र सञ्चारका क्षेत्रमा सक्षम बनाउनेगरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले स्थानीय सरकारले साधन श्रोतको सीमितताका कारण सूचना र सञ्चारका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको भन्दै संघीय सरकारले स्थानीय सरकारलाई तथ्यांक र अभिलेख राख्नका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले संघीयताको मर्मअनुसार स्थानीय सरकारका अधिकार कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्नका लागि मन्त्री शर्मासँग अनुरोध गर्नुभयो ।
भेटका क्रममा मन्त्री शर्माले बुटवलको सञ्चार केन्द्र निर्माणको काम छिटै नै अगाडि बढ्ने विश्वास दिलाउनुभयो । उहाँले संघीय सरकार र स्थानीय सरकारका बीचमा सहकार्य र समन्वयबाट प्रभावकारी काम हुनसक्ने बताउनुभयो ।
यसैगरी प्रमुख पाण्डेयले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलसँग भेट गरी बुटवलको चुरे क्षेत्रको पहिरो नियन्त्रणमा दीर्घकालीन समाधान खोज्न आग्रह गर्नुभएको छ ।
उहाँले स्थानीयलाई जोखिममुक्त बनाउँदै चुरेको संरक्षण गर्न राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमार्फत संघीय सरकारको प्रभावकारी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो ।
भेटका क्रममा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष पौडेलले पहिरो नियन्त्रण र जोखिम न्युनीकरणका लागि सक्दो प्रयास गर्ने बताउनुभयो ।
यसैगरी बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले आजै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीसँग भेटेर अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिँदा लिइने राजस्व घटाउनुपर्ने बताउनुभएको छ ।
उहाँले अव्यवस्थित बसोबासीले राजस्व तिर्न नसकेका कारण लालपूर्जा वितरण रोकिएको बताउँदै राजस्व घटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले अव्यवस्थित बसोबासीले लालपूर्जा प्राप्त गरेको १० वर्षसम्म किनबेच गर्न नपाउने व्यवस्था संसोधन गरी घटाउनुपर्ने बताउनुभयो ।