बुटवल । राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण नेपालमा लोकतन्त्रको संस्थागत विकास हुन नसकेकामा जोड दिइएको छ । लोकतन्त्र प्राप्तीको १७ बर्ष हुँदा समेत प्राप्त उपलब्धिहरुको रक्षा हुन नसक्नु बिडम्बना भएको जनाउँदै सरोकारवालाले मुलुकमा अब स्थायी सरकार र सुशासनको अनुभूति गर्न गर्न पाउने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।
१७ औं लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको राष्ट्रिय उत्सव ः लोकतन्त्र दिवस कि जनयुद्ध दिवस ? बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्र बलियो बनाउन जनताको निराशा मेटिने गरी सरकारले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय निवर्तमान सभापति गोबिन्द खनालले ठूला दलहरुको कार्यशैलीप्रति जनता रुष्ट भएकाले सच्चिएर जानुपर्ने बताउनुभयो ।
नेपाली कङ्ग्रेसका युवा नेता प्रजापाल गिरीले सरकारले लोकतन्त्र दिवसलाइ महत्व नदिएको आभाष भएको बताउनुभयो ।
एमाले युवा नेता बाबुराम पन्थीले सरकारले शान्ति, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
नेकपाका जिल्ला सचिव बिरेन्द्र बिकले जनयुद्ध दिवसबारे गलत ब्याख्या भएको गुनासो गर्दै मुलुकको परिवर्तनका लागि आन्दोलनलाई कसैले बिर्सन नहुने धारणा राख्नुभयो ।
पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाइँले राजतन्त्र विरुद्ध आवाज उठाउँदा जेल बस्नु परेको अनुभव सुनाउँदै सबैको सक्रियतामा राजनीतिक क्रान्ति सम्पन्न भएकाले लोकतन्त्र आएको बताउनुभयो ।
लेखक तथा विष्लेशक ऋषि आजादले ०६२।६३ को जनआन्दोलनको बलमा मुलुकले ठूलो उपलब्धि हासिल गरेको जनाउँदै यसलाई जोगाउन राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस युनियनका अध्यक्ष रेखा भुसाल, सञ्चारिका समूहका अध्यक्ष निरु गौतम, शान्ति समाजका रुपन्देहीका सभापति खिमप्रसाद भट्टराई, उपसभापति कपिल ज्ञवाली, रिता सेन, कृष्ण पाण्डे लगायतले लोकतन्त्र दिवसलाई साझा दिवसका रुपमा मनाउनुपर्ने विचार राख्नुभयो ।