घोराही। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा भएको बताउनुभएको छ ।
बिहीबार प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री शर्माले अत्यन्त कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्रलाई सुधार गर्न सरकार लागिरहेको बताउनुभएको हो ।
‘‘अहिले देशको आर्थिक अवस्था अत्यन्त कमजोर अवस्थामा पुगेको छ । जसले गर्दा सरकारले सोचे अनुसार काम गर्ने अवस्था छैन,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘बिग्रिएको अर्थतन्त्रको सबलीकरणमा सरकारले ध्यान दिइरहेको छ ।’’
मन्त्री शर्माले देशमा आर्थिक सङ्कट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको समेत बताउनुभयो ।