बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा लुम्बिनी प्रदेशबाट महासंघमा निर्वाचित महासंघका कार्यसमिति सदस्यहरुलाई सम्मान गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू सहित जम्शेर अली, मोहन श्रेष्ठ, केशवप्रसाद भण्डारी, भिष्मप्रसाद न्यौपाने, किशोर आचार्य, अव्दुल वाहिद अन्सारी निर्वाचित निर्वाचित हुनुभएको थियो ।
सोमबाट बुटवलमा आयोजित संघको २९ औं परिषद सभामा उहाँहरुलाई बुटवल उपमहानगरपािलकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले कदरपत्र सहित माला लगाएर सम्मान गर्नु भएको हो ।
त्यसै अवसरमा लायन्स डिष्ट्रक गभर्नरमा निर्वाचित संघका सल्लाहकार पूर्वअध्यक्ष अर्जुनमान सैंजू, फष्ट भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित संघका सदस्य पुरुषोत्तमभक्त प्रधानाङ्ग र नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा निर्वाचित संघका सञ्चार समन्वयकर्ता कविन्द्र नेपाललाई पनि सम्मान गरिएको थियो । त्यस्तै संघ अन्तरगत गठित बस्तुगत समितिका सभापतिहरुलाई पनि सम्मान गरिएको थियो ।