रुपन्देही । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ निकासी गर्दा तिलोत्तमा नगरपालिकाबाट सिमा मिचिएको जनाएको छ । ‘यसरी भइरहेको छ तिनाउ नदीको दोहन’ शिर्षकमा समाचार प्रकाशित भएपछि उपमहानगरपालिकाले तिलोत्तमा नगरपालिकालाई पत्राचार गरी सहमति पालना गर्न अनुरोध गरेको छ ।
सिमा रेखाङ्कन नगरी नदीजन्य पदार्थ उत्खनन् गर्दा बुटवलको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको देखिएकाले तिलोत्तमाबाट भएको प्रारम्भिक वाताबरण परीक्षण अध्ययन प्रतिबेदन उपलब्ध गराउन अनुरोध गरेको छ ।
सीमाना नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्दा सिमा जोडिएका पालिकाहरु बीच आपसी समन्वय गरि बिबाद रहित ढंगले उत्खनन् गर्ने गराउने सम्बन्धमा जेठ ६ गते भएको निर्णय कार्यन्वयन नभएको पत्रमा उल्लेख छ ।
“बुटवल उपमहानगरपालिकाको वडा नं १७ र १८ को सिमाक्षेत्रमा बुटवल तर्फको भागमा नदीजन्य पदार्थ उत्खनन् भएको, सिमा नदीको प्रारम्भिक वाताबरण परीक्षण अध्यायन गर्दा समन्वय हुन नसकेको, सिमा रेखाङ्कन नगरि उत्खनन् गर्दा बुटवलको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् भईरहेको देखिएकोले त्यहाँबाट भएको प्रतिबेदन एक प्रति उपलब्ध गराइ दिने व्यवस्था हुन अनुरोध छ”, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीद्वारा हस्ताक्षर रहेको पत्रमा भनिएको छ ।
यसअघि बैशाखमा पनि बुटवल उपमहानगरपालिकाले पत्राचार गरी नदीजन्य पदार्थ अनियमित उत्खनन् हुनसक्ने र सो बिषयमा बिवाद हुन सक्ने भन्दै नदीको क्षेत्र छुट्टाइ मार्किङगर्ने कार्यमा जिल्ला समन्वय समितिबाट सहजिकरण गर्न अनुरोध गरेको थियो ।