काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आजको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना र अनुभव पेस गर्नु भएको छ ।
संसद् सचिवालय सिंहदरबारमा आज भएको सुनुवाईका क्रममा कार्यायोजना प्रस्तुत गर्दै प्रस्तावित प्रधानन्यायाधीश कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायाधीश नियुक्त भएपनि इमान राखेर काम गरेको बताउनुभयो ।
उहाँले तत्कालीन प्रधानन्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिवश कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको समेत बताउनुभयो ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम भोली बिहान ८ बजेलाई सारिएको छ ।
आजै संसद् बैठक भएकाले प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिनुभयो ।
कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस हुनु भएको थियो ।
बुधबार समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्ध उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको थियो ।