काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो सङ्खुवासभाको तुम्लिङटार पुग्नुभएको छ ।
आइतबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सङ्खुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।
प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।
प्रधानमन्त्रीले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी संघ संस्थामा अपील पनि गर्नुभयो ।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताउनुभयो।
उहाँले भन्नुभयो, “म अस्ति मात्र मेलम्ची गएको थिएँ, त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो । यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।”
प्रधानमन्त्री दाहालको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सांसद योगेश भट्टराई, वसन्त नेम्वाङ, दिपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की हुनुहुन्छ ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि उहाँका साथमा हुनुहुन्छ ।