काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले वर्षायाममा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शून्य समयमा सांसद्हरुले सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर लगायतका पूर्वी पहाडी जिल्लामा गएको बाढी र पहिरोका पीडितलाई राहत, उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्न एवं वर्षायाममा मुलुकका अन्य भू–भागमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बञ्चरे डाँडाको फोहोर व्यवस्थापन, किसानका समस्याको समाधान, धर्नामा रहेका विद्यालयका कर्मचारी र सहकारीबाट पीडित नागरिकको माग सम्बोधन गर्नुपर्ने, विभिन्न क्षेत्रमा भएका अनियमितताको छानबिन हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल जारी छ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।