बुटवल । नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा ईट्टा आकारको सुन जस्तो देखिने पदार्थ बरामद भएको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदह क्षेत्रबाट कारमा राखेर लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको टीमले बरामद गरेको हो ।
सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहत रहेको बिओपी बयरघाटले शनिबार राती साढे ९ बजेको समयमा भारत तर्फ जादै गरेको बा।१२ च।३८२० नं को मारुती सुजुकी कार चेकजाँच गर्दा ईट्टा आकारमा रहेको २ थान सुन जस्तो देखिने पदार्थ बरामद भएको शसस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।
बरामदसँगै गाडी र चालकलाई समेत नियन्त्रणमा लिइएको छ । बरामद सामान भैरहवा भन्सार कार्यालय बुझाइएको छ । उक्त बस्तु सुन भएको प्रमाणित भएमा रु दुई करोड बराबरको मूल्य पर्ने छ ।
यो नाकाबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । सुनचाँदी व्यवसायीले जाँच गरेपछि मात्रै सुन हो वा होइन भन्ने प्रमाणित हुनेछ । बरामद गरिएको उक्त अबैध सुनजस्तो वस्तु कक्रहवा नाका हुँदै भारत तर्फ लैजाँदै गर्दा गोप्य सुचनाको आधारमा बरामद गरेको गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।